काठमाडौं । विश्व राजनीतिमा बढ्दो युद्ध, ऊर्जा संकट र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण नेपालजस्ता आयातमुखी देशहरू प्रत्यक्ष प्रभावित भइरहेका बेला मेकानिकल इन्जिनियर तथा जलविद्युत् उद्यमी इन्जिनियर सुरज पाण्डेले नेपाल अब पोस्ट पेट्रोल युग को तयारीतर्फ अघि बढ्नुपर्ने बताएका छन्।
उनले विश्वभर पेट्रोल र डिजेलको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर आम नागरिकको जीवनमा परेको उल्लेख गर्दै नेपालले दीर्घकालीन ऊर्जा सुरक्षाका लागि हरित हाइड्रोजनमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।
"आज पेट्रोल महँगो हुँदा केवल सवारी खर्च मात्र बढेको होइन, त्यसले बजार मूल्य, ढुवानी, उत्पादन र जनताको दैनिक जीवनसमेत प्रभावित भइरहेको छ", इन्जिनियर पाण्डेले भने, "विश्व ऊर्जा राजनीति तीव्र रूपमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा नेपाल केवल पेट्रोलियममा निर्भर रहेर अगाडि बढ्न सक्दैन।"
उनका अनुसार छिमेकी राष्ट्र भारतले अहिले हरित हाइड्रोजनमा तीव्र रूपमा लगानी गरिरहेको छ। भारतले सन् २०३० सम्म विश्वकै प्रमुख ग्रीन हाइड्रोजन उत्पादक राष्ट्र बन्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले नेपालले पनि अब जलविद्युत्को अतिरिक्त उत्पादनलाई भविष्यको स्वच्छ इन्धनमा रूपान्तरण गर्ने रणनीति बनाउनुपर्ने बताए।
इन्जिनियर पाण्डेले नेपालसँग प्रशस्त जलस्रोत, स्वच्छ ऊर्जा र हरित विद्युत् उत्पादनको क्षमता भएकाले हाइड्रोजन उत्पादनमा ठूलो सम्भावना रहेको बताए। "नेपालले अतिरिक्त जलविद्युत् प्रयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सके भविष्यमा पेट्रोलियम आयातमा हुने अर्बौं रुपैयाँ विदेशिनबाट रोक्न सकिन्छ", उनले भने, "यसले ऊर्जा आत्मनिर्भरता मात्र होइन, नयाँ उद्योग, रोजगारी र आर्थिक विकासको ढोका खोल्न सक्छ।"
उनले अहिले नेपालमा इलेक्ट्रिक सवारीको बहस चलिरहेको भए पनि दीर्घकालीन रूपमा हाइड्रोजन प्रविधि अझ प्रभावकारी र रणनीतिक विकल्प बन्न सक्ने धारणा व्यक्त गरे। विशेषगरी भारी सवारी, उद्योग, मल उत्पादन र ऊर्जा भण्डारणमा हाइड्रोजनको प्रयोग भविष्यमा अत्यन्त महत्वपूर्ण हुने उनको भनाइ छ।
नेपालले अब केवल बिजुली बेच्ने सोचमा सीमित हुनु हुँदैन, उनले भने, हामीले जलविद्युत्लाई हरित इन्धन उत्पादन गर्ने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्छ। यही मार्गले नेपाललाई आर्थिक रूपमा बलियो र ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन सक्छ।
इन्जिनियर पाण्डेले सरकार, निजी क्षेत्र र प्राविधिक संस्थाहरूबीच सहकार्य गरेर हाइड्रोजन प्रविधिमा अनुसन्धान, नीति निर्माण र लगानी सुरु गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार समयमै तयारी गर्न सके नेपाल दक्षिण एशियामै स्वच्छ ऊर्जा र हरित हाइड्रोजनको महत्वपूर्ण केन्द्र बन्न सक्ने सम्भावना छ।