काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवाग्राहीको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन् । तीमध्ये ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गरेका छन् ।
महानगरपालिकाका अनुसार अघिल्ला वर्षहरूको तुलनामा स्वास्थ्य सेवा लिनेको संख्या निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०८०–०८१ मा कुल १ लाख २४ हजार ४४ सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका थिए । यस्तै, २०८१–०८२ मा १ लाख ९४ हजार १९३ सेवाग्राहीमध्ये ५९ हजार ५९ जनाले ओपिडी सेवा उपयोग गरेका थिए । चालु वर्षको अन्त्यसम्म करिब २ लाख ४० हजार सेवाग्राहीले सेवा लिने अनुमान गरिएको छ । बुधबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल को उपस्थितिमा आयोजित कार्यक्रममा स्वास्थ्य विभागले स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनको नतिजा सार्वजनिक गर्दै सेवा प्रवाहबारे जानकारी दिएको हो । कार्यक्रममा बोल्दै डंगोलले शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि उपचारात्मक, प्रतिरोधात्मक, निदानात्मक र पुनःस्थापनात्मक सेवाबीच सन्तुलन कायम गर्न आवश्यक रहेको बताइन् । उनले सबै स्वास्थ्य कार्यक्रमलाई समान प्राथमिकताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशनसमेत दिइन् ।
स्वास्थ्य विभागले संघीय सरकारको ९ करोड ५४ लाख रुपैयाँ बजेटबाट ३० वटा, प्रदेश सरकारको २ करोड १९ लाख रुपैयाँबाट ३ वटा तथा महानगरपालिकाको आन्तरिक बजेटबाट ८६ करोड २६ लाख ४२ हजार रुपैयाँ खर्च गरी १५४ वटा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । यसरी कुल १८७ वटा स्वास्थ्यसम्बन्धी कार्यक्रम कार्यान्वयनमा रहेका छन् । स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी. का अनुसार महानगरपालिकाको कुल बजेटको ३.९ प्रतिशत अर्थात् ९७ करोड ९९ लाख ८२ हजार रुपैयाँ स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको छ । मूल्याङ्कन प्रतिवेदनअनुसार वडा नं. ७, १२, १९ र २७ का स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले उत्कृष्ट मापदण्ड पूरा गर्दै हरियो संकेत प्राप्त गरेका छन् । त्यस्तै, ७ वटा वडा निलो र २० वटा केन्द्र पहेँलो श्रेणीमा परेका छन् । कुनै पनि स्वास्थ्य केन्द्रले न्यून स्तरको सेतो संकेत भने प्राप्त गरेका छैनन् ।