काठमाडौँ । वैदेशिक रोजगारी र अमेरिकाको सपना देखाएर सर्वसाधारणलाई अवैध बाटोबाट विदेश पु¥याई अलपत्र पार्ने तथा करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन ब्यूरोको टोलीले काठमाडौँ र पोखराबाट दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा दाङको शान्तिनगर गाउँपालिका–३ का २६ वर्षीय लोकमान खत्री र स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का ४४ वर्षीय शिव बहादुर थापा रहेका छन्। प्रहरीले खत्रीलाई सल्यान प्रहरीको समन्वयमा र थापालाई कास्कीको पोखरा–१७ बाट पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार लोकमान खत्रीले पीडितलाई सुरुमा बेलायतको भिजिट भिसालाई ‘वर्किङ भिसा’ बनाइदिने भन्दै ४ लाख रुपैयाँ लिएका थिए। पछि बेलायत नभएपछि अमेरिका पठाइदिने प्रलोभनमा पारी पटक–पटक गरी ६५ लाख २६ हजार ७ सय ८० रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ । २०८१ भदौ १८ गते पीडितलाई काठमाडौँबाट दुबई, भारत हुँदै पुनः नेपाल ल्याएर कतार, स्पेन, ब्राजिल, पेरू, ईक्वयडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, हुण्डोरस र मेक्सिकोको बाटो हुँदै अवैध रूपमा अमेरिका छिराइएको थियो। तर, अमेरिकी प्रहरीले पक्राउ गरी १४ महिना जेल राखेपछि गत वैशाख १८ गते उनलाई नेपाल डिपोर्ट गरिएको थियो।
अर्का आरोपी शिव बहादुर थापाले पीडितलाई २०७८ सालदेखि नै विभिन्न देश पु¥याएर बन्धक बनाउँदै ठगी गरेको पाइएको छ। दुबईको होटलमा एक महिना बन्धक बनाई ८ लाख लिएर सुरु भएको ठगीको सिलसिला १ करोड ४२ लाख रुपैयाँसम्म पुगेको थियो। पीडितलाई बहराइन, टर्की, ब्राजिल र कोलम्बिया पु¥याएर शारीरिक तथा मानसिक यातना दिइएको र थप २० हजार डलर माग गरिएको थियो। रकम दिन नसकेपछि एजेन्टहरूले पीडितलाई मेक्सिकोको बोर्डरमा अलपत्र छाडेर फरार भएका थिए। पीडितले अमेरिकास्थित नेपाली राजदूतावासको सहयोगमा गत वैशाख २ गते नेपाल फर्कन सफल भएका थिए।
मानव बेचबिखन ब्यूरोका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ। यो गिरोहमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको र पीडितहरूलाई न्याय दिलाउन कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।