काठमाडौँ । वसन्त ऋतुमा हिमाल आरोहणका क्रममा ५ जना आरोही तथा पथप्रदर्शकको निधन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभाग ले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।
विभागका अनुसार सगरमाथा आरोहणका क्रममा तीन जना नेपाली माउन्टेन गाइडहरूको मृत्यु भएको हो । सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पाको आधारशिविर नजिक, विजय घिमिरेको खुम्बु आइसफलमा र फुरा गेलजेन शेर्पाको तेस्रो शिविरमा निधन भएको जनाइएको छ । त्यस्तै मकालु हिमाल आरोहणका क्रममा दुई जना विदेशी आरोहीको पनि मृत्यु भएको छ । चेक रिपब्लिकका डेभिड रोबिनेकको मकालु–२ को करिब ७ हजार ३०० मिटर उचाइमा र संयुक्त राज्य अमेरिकाका जोहानेस शेलीको मकालु–१ को करिब ७ हजार २०० मिटर उचाइमा निधन भएको विभागले जनाएको छ । विभागले दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।