काठमाडौँ । भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा लाग्ने आयात भन्सार शुल्क उल्लेख्य रूपमा बढाएको छ । पश्चिम एसियामा जारी तनावका कारण विश्व अर्थतन्त्रमा परेको दबाबबीच विदेशी मुद्रा सञ्चिति जोगाउन यो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नयाँ व्यवस्थाअनुसार सुन र चाँदीमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ । त्यस्तै प्लाटिनममा लाग्ने शुल्क पनि ६।४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ । यो नियम सुन–चाँदीका डोरा, सिक्का तथा सम्बन्धित सामग्रीमा समेत लागू हुने बताइएको छ । भारतीय अर्थ मन्त्रालयका अनुसार यो निर्णयको उद्देश्य अनावश्यक आयात नियन्त्रण गर्नु हो । पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनावका कारण कच्चा तेलको मूल्य अस्थिर बनेको र ढुवानी मार्गमा अवरोध आउन सक्ने जोखिमका कारण चालु खाता घाटा र मुद्रास्फीतिको दबाब बढ्न सक्ने चिन्ता सरकारले व्यक्त गरेको छ ।
अधिकारीहरूका अनुसार भारतको विदेशी मुद्रा सञ्चिति इन्धन, मल, औद्योगिक कच्चा पदार्थ, रक्षा सामग्री र प्रविधिजस्ता अत्यावश्यक वस्तुका लागि सुरक्षित राख्न आवश्यक छ । सुन–चाँदी सांस्कृतिक रूपमा महत्वपूर्ण भए पनि ठूलो परिमाणमा यसको आयातले विदेशी मुद्रा बाहिरिने भएकाले नियन्त्रण आवश्यक भएको उनीहरूको भनाइ छ । यो निर्णय सन् २०२४–२५ को बजेटमा गरिएको शुल्क कटौती उल्ट्याउने कदम पनि हो । त्यसअघि सुन–चाँदीमा भन्सार १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र प्लाटिनममा १५.४ प्रतिशतबाट ६.४ प्रतिशत बनाइएको थियो । सरकारले आर्थिक अवस्थाअनुसार यस्ता दर समय–समयमा परिवर्तन हुने र भविष्यमा फेरि समायोजन हुन सक्ने संकेत पनि दिएको छ ।