काठमाडौँ । याम्वालिङ हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बाँडफाँड गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड को कार्यालयमा आयोजित कार्यक्रममा गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको हो ।
बाँडफाँड परिणामअनुसार १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । आईपीओमा २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए । तीमध्ये ४४ हजार ४१६ जनाको आवेदन विभिन्न कारणले रद्द भएको थियो भने २९ लाख ३८ हजार ८२ जना योग्य आवेदक कायम भएका थिए ।
कम्पनीका अनुसार मागभन्दा १८.६३ गुणा बढी आवेदन परेको थियो । यसले लगानीकर्ताबीच कम्पनीको आईपीओप्रति उच्च आकर्षण देखिएको जनाएको छ । कम्पनीले २०८३ वैशाख १६ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो । आईपीओको नतिजा सीडीएस एण्ड क्लियरिङ लिमिटेड को आईपीओ रिजल्ट वेबसाइट, मुक्तिनाथ क्यापिटलको आधिकारिक वेबसाइट तथा मेरो शेयर मार्फत हेर्न सकिने जनाइएको छ ।