काठमाडौँ। डोनाल्ड ट्रम्प ले इरानमाथिको दबाब निरन्तर जारी रहने चेतावनी दिएका छन् । चीन भ्रमणमा जानुअघि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानको सैन्य शक्ति कमजोर भइसकेको दाबी गर्दै अमेरिका आफ्नो लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
ट्रम्पले इरानमाथि लगाइएको नाकाबन्दी प्रभावकारी रहेको उल्लेख गर्दै आवश्यक परे अमेरिका अन्य कदम चाल्न पनि पछि नहट्ने संकेत गरेका छन् । उनले इरानको नौसेना, वायुसेना तथा युद्ध क्षमतामा ठूलो क्षति पुगेको दाबी गर्दै इरानले समयमै सही निर्णय लिनुपर्ने बताएका छन् । इरानसँगको तनाव समाधानका लागि चीनको मध्यस्थता आवश्यक नरहेको धारणा पनि ट्रम्पले व्यक्त गरेका छन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ को भूमिका आवश्यक नभएको स्पष्ट पारे । यसैबीच, ट्रम्पले नेटो प्रति असन्तुष्टि जनाउँदै संकटको समयमा अपेक्षित सहयोग नपाएको आरोप लगाए । उनले आवश्यक पर्दा नेटो साथमा नदेखिएको टिप्पणी गरेका हुन् ।
तर नेटोका महासचिव मार्क रुटे ले भने गठबन्धनको भविष्य बलियो रहेको बताएका छन् । उनले युरोपेली राष्ट्रहरू र क्यानडाले रक्षा खर्च बढाउँदै गएको उल्लेख गर्दै नेटो अझ सुदृढ बन्दै गएको प्रतिक्रिया दिएका छन् । मध्यपूर्वमा बढ्दो तनावका कारण रणनीतिक रूपमा महत्वपूर्ण मानिने होर्मुज क्षेत्र अहिले विश्व सुरक्षा चासोको केन्द्र बनेको छ । तेल आपूर्ति र समुद्री व्यापार सुरक्षालाई लिएर अमेरिका, इरान तथा नेटो सदस्य राष्ट्रहरूबीच कूटनीतिक र सैन्य गतिविधि तीव्र बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।