काठमाडौँ । सागर डिष्टिलरी लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा व्यहोरेको जनाएको छ । यो घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको घाटा २ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
यद्यपि कम्पनीको आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको ६ करोड १ लाख रुपैयाँको तुलनामा ४०.८८ प्रतिशतले बढी हो । आम्दानी बढे पनि बिक्री तथा वितरण खर्च तीव्र रूपमा बढ्दा कम्पनी नाफामा जान सकेन । समीक्षा अवधिमा कम्पनीको बिक्री तथा वितरण खर्च ७८.२१ प्रतिशतले वृद्धि भएर ३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ । साथै, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ०८ पैसा र करेन्ट रेसियो १.७१ गुणा रहेको कम्पनीले जनाएको छ ।