अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ कुरुलेफाँटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। घटनास्थलमा दुई जनाको मृत्यु भएकोमा थप दुई जनाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी अन्य २५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि पाल्पा र बुटवलका अस्पतालहरूमा पठाइएको छ।
सन्धिखर्क–पाल्पा सडकखण्डमा पर्ने उक्त स्थानमा ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुई जना पर्वतको मोदी गाउँपालिका–पातीचौर निवासी रहेको खुलेको छ। यद्यपि, उनीहरूको औपचारिक पहिचान र अन्य मृतकको विवरण खुल्न बाँकी रहेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस बहादुर जिसीले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरूको उद्धार कार्य सम्पन्न भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । सुपादेउरालीको दर्शन गरी पर्वततर्फ फर्किँदै गरेका तीर्थयात्री सवार उक्त बस सडकबाट तल खसेर दुर्घटना भएको थियो।
यो पनि
अर्घाखाँचीमा तीर्थयात्री बोकेको बस दुर्घटनाः ३० जनाको उद्धार