अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ कोलडाँडास्थित भित्री सडकखण्डमा मंगलबार तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परेको छ। सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ध १ ख ५०४ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको हो ।
प्रहरीका अनुसार दुर्घटनालगत्तै खटिएको उद्धार टोलीले चालकसहित हालसम्म अन्दाजी ३० जना घाइतेहरूलाई उद्धार गरेको छ । घाइतेहरूलाई तत्काल थप उपचारका लागि जिल्ला अस्पताल पाल्पा र सन्धिखर्क पठाइएको छ ।
घटनास्थलमा अझै पनि केही यात्रुहरू हराइरहेको हुनसक्ने आशंकामा बाँकी घाइतेहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ । भिरालो बाटो र भौगोलिक कठिनाइका बाबजुद स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ।
पछिल्लो समय तीर्थस्थल सुपादेउराली दर्शन गरेर फर्किने क्रममा हुने सवारी दुर्घटनाहरू चुनौतीपूर्ण बन्दै गएका छन्। प्रहरीले दुर्घटनाको विस्तृत विवरण र घाइतेहरूको अवस्थाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।