काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइ कायम गरेको छ। मङ्गलबार सुनको भाउ एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो । सोमबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने उच्च दरले वृद्धि भएको हो । सुनसँगै आज चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। सोमबार प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३ सय ५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।