काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग–२ अन्तर्गत सातौँ शंखलाको पहिलो खेलमा मंगलबार स्कटल्यान्डको सामना गर्दै छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ९ः३० देखि सुरु हुनेछ । नेपालले गत साता मात्रै यही मैदानमा ओमान र यूएईसँगको शृंखला खेलेको थियो।
यो शृंखलामा तीन जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने छ ।
अंकतालिकाको शीर्ष दुईमा रहेका यी टोलीविरुद्ध जित निकाल्न नेपाललाई त्यति सहज भने हुनेछैन ।शृंखलामा नेपाल २४ खेलबाट १८ अंकका साथ सातौँ स्थानमा छ । अमेरिका समान खेलबाट ३६ अंकका साथ शीर्षस्थानमा रहँदा २८ खेल खेलेको स्कटल्यान्डले ३४ अंकका साथ अमेरिकालाई पछ्याइरहेको छ ।
नेपालले शृंखलामा अब १२ खेल खेल्न बाँकी छ । त्यसैले घरेलु मैदानमा हुने अन्तिम शृंखलाका यी चार खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ । यी चार खेलमा माथिल्लो स्थानमा रहेका टोलीलाई हराउन सके शीर्ष चारमा पुग्ने नेपालको लक्ष्य सहज हुनेछ ।
नेपाल स्कटल्यान्डलाई हराउँदै शृंखलामा सुखद सुरुआत गर्ने सोचमा छ । यता, स्कटल्यान्ड पनि जितका साथ शीर्षस्थानमा पुग्ने लक्ष्यमा छ ।