काठमाडौँ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २३ गतेदेखि बिक्रीमा ल्याएको साधारण सेयरमा इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाछुट्टै आईपीओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ । त्यसपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो । कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर निष्कासन गरेको जनाएको छ । जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्य बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न कम्पनीले अनुमति पाएको थियो ।
यस योजनाअनुसार १२ लाख कित्ता सेयर भोजपुरका आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको थियो भने ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको थियो । त्यस्तै, १ लाख ५१ हजार ५३३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । आवेदन सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो सेयर’ मार्फत दिन सकिनेछ । आईपीओ बिक्री तथा निष्कासन व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लिमिटेड ले सम्हालेको छ ।