काठमाडौँ । कैलालीस्थित निसर्ग हस्पिटलले नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडी लोकेश बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
राष्ट्रिय तथा घरेलु क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङ र निरन्तर प्रदर्शनका कारण चर्चामा रहेका बमको संलग्नताले अस्पतालका सामाजिक तथा स्वास्थ्यसम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । लोकेश बम पछिल्लो समय उदाउँदै गरेका प्रतिभाशाली क्रिकेटरमध्ये एक हुन् । घरेलु प्रतियोगिता तथा राष्ट्रिय टोलीको छनोट प्रक्रियासम्म आफ्नो प्रभाव देखाउँदै आएका उनले खेलमैदानमा देखाएको आत्मविश्वास, अनुशासन र आक्रामक शैलीका कारण दर्शक तथा समर्थकबीच छुट्टै पहिचान बनाएका छन् । युवा पुस्तामाझ लोकप्रिय बमलाई भविष्यका सम्भावित राष्ट्रिय क्रिकेट स्तम्भका रूपमा समेत हेरिन्छ ।
निसर्ग हस्पिटलले लामो समयदेखि विपन्न तथा असहाय बिरामीहरूलाई निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित अस्पतालले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।यसैगरी, गौशाला सहयोग, अनाथ बालबालिकाका लागि शिक्षा तथा आर्थिक सहायता र अन्य सामाजिक संस्थासँगको सहकार्यमार्फत अस्पतालले मानवीय सेवाका गतिविधि अघि बढाइरहेको छ । ब्रान्ड एम्बासडर नियुक्त भएसँगै लोकेश बमको संलग्नताले युवा पुस्तामा स्वास्थ्य सचेतना फैलाउने, खेलकुद र स्वस्थ जीवनशैलीबीचको सम्बन्ध मजबुत बनाउने तथा अस्पतालका सामाजिक कार्यक्रमलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ । निसर्ग हस्पिटलले आगामी दिनमा पनि स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।