काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से २७ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २७।४९ अंकले बढ्दै २ हजार ७४५.६५ अंकमा उक्लिएको हो। आज ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँ बराबरको ७४ लाख ७८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन करिब ३ अंकले मात्र नेप्से बढेको बजारमा २ अर्ब ८८ करोडको रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी १.८७ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.७१ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.४८ प्रतिशतले बढेको छ । त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्य आज सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने होटल फरेस्ट ईनको शेयर मूल्य ७.९० प्रतिशतले बढेको छ । २३५ कम्पनीको शेयर मूल्य बढ्दा आज जम्मा २६ कम्पनीको मात्र घटेको छ ।