काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा बुधबार दिउँसो भएको युवक हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–४ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ का २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी नगरपालिका–१ का २२ वर्षीय रोशन बिष्ट रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, बुधबार दिउँसो साढे २ बजेतिर कीर्तिपुरको पोडेटोलमा गुल्मी घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। घटनालगत्तै प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनै जना विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर ’कर्तव्य ज्यान’ मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूले हत्या गर्नुको कारणबारे प्रहरीले सोधपुछ गरिरहेको छ।
कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
कीर्तिपुर हत्या प्रकरणः युवकको हत्या आरोपमा तीन जना पक्राउ