काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.३ ओभरमा १७५ रनमै समेटिएको थियो।
ओमानलाई सस्तैमा समेट्न गुल्सन झाले घातक बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए। उनले ९ ओभरमा ३८ रन खर्चिएका थिए। यस्तै करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट हात पारे। ओमानका लागि विनायक शुक्लाले ३६, हमाद मिर्जाले ३४ र हस्नैन उल वहाबले २९ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले ९७ बलमा ९४ रनको सानदार इनिङ्स खेले। उनले दोस्रो विकेटका लागि अर्जुन कुमाल (४८ रन) सँग १२२ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पु¥याएका थिए। यस्तै आरिफ शेखले अविजित ४३, दीपेन्द्र सिंह ऐरीले ३३ र गुल्सन झाले १७ रनको योगदान दिएका थिए।
यो जितसँगै नेपालले ओमान र यूएई सम्मिलित शृङ्खलाको सुखद अन्त्य गरेको छ। शृङ्खलाका ४ मध्ये ३ खेल जितेको नेपाल १८ अंकसहित तालिकाको सातौँ स्थानमा छ। ओमान भने ३१ अंकका साथ तेस्रो स्थानमा यथावत छ।
यो जितले नेपालको शीर्ष चारमा पर्ने र विश्वकप क्वालिफायर्स खेल्ने सम्भावनालाई थप बलियो बनाएको छ। नेपालले अब आगामी वैशाख २९ गतेदेखि घरेलु मैदानमै अमेरिका र स्कटल्याण्ड सम्मिलित अर्को त्रिदेशीय शृङ्खला खेल्ने तालिका रहेको छ।