काठमाडौँ । पछिल्लो १ महिनामा मात्र नेपालमा १ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२६ को अप्रिल महिनामा नेपालमा १ लाख ७ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस महिना कुल १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भ्रमणमा आएका हुन्।
बोर्डको तथ्याङ्क अनुसार दक्षिण एसिया (सार्क) क्षेत्रबाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक आएका छन्, जुन कुल आगमनको ३१ प्रतिशत हिस्सा हो। यस्तै अन्य एसियाली मुलुकबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८ र अमेरिकाबाट २ हजार ५१८ पर्यटक भित्रिएका छन्। पश्चिम एसियाबाट १ हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ जना नेपाल आएका छन्।
मुलुकगत आधारमा भारत पहिलो र चीन दोस्रो प्रमुख स्रोत बजारका रूपमा देखिएका छन्। तथ्याङ्क अनुसार भारतबाट १५ हजार १९६ र चीनबाट ११ हजार ७२२ पर्यटक नेपाल आएका छन् भने ५ हजार २३१ पर्यटकसहित बंगलादेश तेस्रो स्थानमा रहेको छ।
सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० र कोरोना महामारी अघि सन् २०१९ को सोही अवधिमा १ लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए। पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वका कारण हवाई पहुँचमा आएको अवरोधले आगमनमा केही असर पुगेको देखिए पनि नेपालको पर्यटन बजार बहुस्रोततर्फ विस्तार भइरहेको छ। आगामी दिनमा डिजिटल मार्केटिङ र थप प्रभावकारी रणनीतिहरू आवश्यक रहेको पर्यटन बोर्डको निष्कर्ष छ।