काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सूचक नेप्से ३४.६३ अंकले घटेर २७०४ अंकमा पुगेको छ। बजार कारोबार सुरु भएको केही समयसम्म वृद्धि देखिए पनि त्यसपछि दिनभरजसो ओरालो लागेको थियो। योसँगै नेप्से लगातार चौथो दिन पनि घटेको हो।
यसअघि मंगलबार २६ अंक, बुधबार २५ अंक र बिहीबार ५ अंकले बजार घटेको थियो भने शुक्रबार सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन। आज कारोबार रकम पनि घट्दै ४ अर्ब २६ करोडमा सीमित भएको छ, जबकि अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएको थियो। कारोबार भएका मध्ये २७ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको घटेको छ भने २ कम्पनी स्थिर रहेका छन्।
माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.५४ प्रतिशतले घटेको छ। त्यस्तै जलविद्युत्, विकास बैंक, लगानी, होटल तथा पर्यटन, बीमा लगायतका समूहहरू पनि रातोमा रहेका छन्। आज सबैभन्दा धेरै मूल्य बढ्नेमा फरवार्ड माइक्रोफाइनान्स र झापा इनर्जी रहेका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र एनआईसी एसिया बैंक अगाडि रहेका छन्।