काठमाडौँ। सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणको आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक बिक्रीमा ल्याएको हो ।
कम्पनीको ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता शेयरमध्ये १० प्रतिशत हिस्सा यस समूहका लागि छुट्याइएको जनाएको छ । प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ । यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा आवेदन अवधि जेठ ४ गतेसम्म लम्बिनेछ ।लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन मेरो शेयरमार्फत सि–आस्वा प्रणाली प्रयोग गरी दिन सकिनेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणपछि सर्वसाधारणका लागि पनि आईपीओ ल्याउने तयारी गरेको जनाएको छ ।