काठमाडौँ। नेपालको प्रमुख घरेलु क्रिकेट प्रतियोगिता कोशी प्राइड लिग (केपीएल) सिजन ३ आगामी जेठ ९ गते मे २३ देखि सुरु हुने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको औपचारिक उद्घाटन मिति सार्वजनिक गरेको हो। यसअघि जेठ २६ गते ट्रफी सार्वजनिक (ट्रफी रिभिल) कार्यक्रम गरिने पनि जानकारी दिइएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले यस्ता लिगहरूले खेलाडीलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने र स्थानीयदेखि राष्ट्रिय स्तरसम्मको क्रिकेट संरचनालाई मजबुत बनाउन मद्दत गर्ने बताए।
उनका अनुसार निजी क्षेत्रको लगानी, स्थानीय समुदायको साथ र बढ्दो क्रिकेट आकर्षणले प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।आयोजकले विभिन्न चुनौतीका बीच जिल्ला तथा प्रदेश क्रिकेट संघ, प्रायोजक र सरोकारवालाको सहकार्यमा लिग सञ्चालन हुन लागेको जनाएको छ। कोशी प्राइड लिगलाई नेपालको प्रमुख क्रिकेट प्रतियोगितामध्ये एक बनाउने लक्ष्यसहित अघि बढाइएको छ। आयोजकले प्रतियोगिता सफल बनाउन सबै पक्षसँग सहयोगको आह्वानसमेत गरेको छ।