काठमाडौं । भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान एक यात्रुले गुडिरहेको विमानको आपत्कालीन ढोका अचानक खोलेर बाहिर हामफालेपछि त्रास फैलिएको छ । साउदी अरेबियाको शारजाहबाट चेन्नई आइपुगेको एयर अरेबियाको उक्त विमानमा २३१ यात्रु सवार थिए । ती व्यक्तिको यस्तो हर्कतका कारण विमानमा सवार अरू यात्रुको ज्यान जोखिममा परेको थियो ।
सुरक्षाकर्मीले तत्कालै स्थिति नियन्त्रणमा लिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । यो घटना विमान अवतरणपछि मुख्य धावनमार्गबाट ट्याक्सीवेतर्फ ढिलो गतिमा गुडिरहेका बेला भएको हो । ३४ वर्षीय एक पुरुष यात्रुले आपत्कालीन ढोका खोलेर बाहिर हामफालेका थिए ।
यो घटनाले विमानभित्र भागदौड मच्चिनुका साथै सुरक्षा एजेन्सीमा हलचल पैदा गराएको थियो । पाइलटले तुरुन्तै ‘इमर्जेन्सी ब्रेक’ लगाएर विमान रोके र ग्राउन्ड सुरक्षा टोलीलाई ‘अलर्ट’ गराएका थिए । यात्राका क्रममा ती यात्रुको स्वास्थ्य अवस्था निकै बिग्रिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।