काठमाडौँ। निर्माण क्षेत्रमा सक्रिय हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. (एचबिई)ले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
सन् १९८५ मा स्थापना भएको कम्पनी निजी क्षेत्रका पूर्वाधार तथा निर्माण परियोजनामा लामो समयदेखि सक्रिय रहँदै आएको छ। रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनअनुसार कम्पनीको सञ्चालन आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको देखिएको छ। सन् २०२१ मा १ अर्ब ५३ करोड रुपैयाँ रहेको आम्दानी सन् २०२५ सम्म बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। नाफा तथा वित्तीय अवस्था सुधारतर्फ कम्पनीको ओपीबीडीआईटीए मार्जिन पनि क्रमशः सुधार हुँदै गएको छ।
सन् २०२१ र २०२२ मा ४.५ प्रतिशत रहेको यो सूचक सन् २०२५ मा ६.५ प्रतिशत पुगेको छ भने २०२६ को पहिलो छ महिनामा ७.५ प्रतिशतमा पुगेको छ। त्यस्तै, बाह्य दायित्व र नेटवर्थ अनुपात घट्दै गएको छ, जसले कम्पनीको वित्तीय जोखिम क्रमशः कम हुँदै गएको संकेत गर्छ। सन् २०२३ मा ३.५ गुणा रहेको यो अनुपात सन् २०२५ मा ३.० र २०२६ को पहिलो छ महिनामा १.७ मा झरेको छ। तरलता र अर्डर बुकमा चुनौती कम्पनीको कार्यशील पूँजी सूचकमा केही सुधार देखिए पनि तरलता पक्षमा चुनौती कायमै छ। नेट वर्किङ क्यापिटल –४ प्रतिशतमा सीमित रहेको छ भने करेन्ट रेसियो ०.९ बाट बढेर १.२ पुगेको छ। त्यसैगरी, अर्डर बुक घट्दै गएको देखिएको छ।
सन् २०२५ को मध्यसम्म बाँकी काम वार्षिक आम्दानीको करिब ०.९ गुणामा सीमित रहेको छ, जुन अघिल्लो वर्ष १.१ गुणा थियो। छोटो परियोजना अवधि, सीमित भौगोलिक विस्तार तथा प्रतिस्पर्धी बजारका कारण नयाँ काम प्राप्तिमा दबाब परेको प्रतिवेदनले देखाएको छ। जोखिम र चुनौती प्रतिवेदनअनुसार उच्च लाभांश वितरण (करिब ८० प्रतिशत) का कारण कम्पनीको नगद सञ्चिति घट्दै गएको छ, जसले भविष्यमा तरलता दबाब बढाउन सक्ने देखिएको छ। साथै, लेखा परीक्षण प्रतिवेदनले कर्मचारी सुविधा सम्बन्धी नियम पालना नभएको र नेपाल लेखा मापदण्डका केही प्रावधान उल्लङ्घन भएको उल्लेख गरेको छ, जसले सम्भावित दायित्वको जोखिम बढाएको बताइएको छ।