काठमाडौं । यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबारको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गरेको हो ।
डकवर्थ लेविस मेथडका आधारमा २५५ रनको लक्ष्य पाएको यूएई निर्धारित ३८ ओभरमा ८ विकेट गुमाउँदै २४८ रनमा समेटियो । यूएईका मुहम्मद शहदादले सर्वाधिक ६५ रन बनाए । ७२ बलको सामना गरेका उनले ४ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, खुजैमा तनवीरले २६ बलमा ४९ रनको विष्फोटक पारी खेले ।
यूएईका हरप्रित सिंहले ४० बलमा ४१ रन बनाए ।
त्यस्तै, अक्षदीप नाथले ३२ बलमा ३६ रन बनाए भने आयंश शर्माले ३२ बलमा ३३ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले ।
९४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, विनोद भण्डारीले ७९ बलमा ५६ रन जोडे । गुल्शन झाले ३८ बलमा ४४ रन बनाए।
यूएईका जुनैद सिद्दिक र अजय कुमारले समान दुई तथा खुजैमा तनवीर र हैदर अलीले समान एक विकेट लिए । वर्षाले खेल प्रभावित भएपछि यूएईले ३८ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको थियो ।