काठमाडौँ । सरकारको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत प्राप्त प्रस्तावहरूमध्ये प्रारम्भिक छनोटमा परेका परियोजनाहरूको सूची सार्वजनिक भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रबार एक सूचना प्रकाशित गर्दै देशभरबाट छानिएका १ हजार ३ सय १ ओटा परियोजनाहरूको नाम सार्वजनिक गरेको हो। यस प्रारम्भिक सूचीमा कृषि, पशुपालन, प्रविधि, पर्यटन र उत्पादनमूलक क्षेत्रका विभिन्न स्टार्टअपहरू समेटिएका छन्, जसमा कृषि तथा पशुपालन क्षेत्रका परियोजनाहरूको संख्या सबैभन्दा बढी देखिएको छ।
चालु आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले स्टार्टअप कर्जा शीर्षकमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै गत १९ कात्तिकमा आवेदन आह्वान गरेको थियो। सो अवधिमा देशभरबाट कुल १० हजार २४४ ओटा आवेदन परेका थिए, जसमा ८ हजार २०३ ओटा अनलाइन र २ हजार ४१ ओटा भौतिक रूपमा दर्ता भएका थिए।
प्रारम्भिक सूचीमा नाम समावेश भएका प्रस्तावकहरूले अब अन्तिम छनोट प्रक्रियाका लागि थप व्यावसायिक विवरणहरू बुझाउनुपर्ने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले यो प्रारम्भिक छनोटपछि स्थलगत निरीक्षण, फोटो तथा भिडियो संकलन र थप सूक्ष्म मूल्याङ्कनका आधारमा मात्रै अन्तिम सूची तयार पार्नेछ।
प्रस्तावकहरूले प्रतिष्ठानको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको ढाँचा डाउनलोड गरी आफ्नो व्यवसायको पूर्ण र स्पष्ट विवरण भरी तोकिएको ह्वाट्सएप नम्बर ९७१२००६७१७ मा पठाउनुपर्नेछ। यो विवरण आगामी २३ वैशाखसम्म अनिवार्य रूपमा पठाइसक्नुपर्ने र तोकिएको समयसीमा भित्र विवरण पेस नगर्ने प्रस्तावकहरूको प्रस्ताव स्वतः अमान्य हुने सूचनामा उल्लेख गरिएको छ। सरकारको यो कदमले नवीन सोच भएका युवा उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जामार्फत स्वदेशमै उद्यमशीलता प्रवद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।