काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न रहेका विभिन्न ८ वटा बिमा कम्पनीका संस्थापक सेयरधनीहरूको विस्तृत विवरण माग गरेको छ । विभागले बिहीबार (वैशाख १७) एक सार्वजनिक सूचना जारी गर्दै अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि ती कम्पनीका संस्थापक सेयर खरिद गर्ने व्यक्तिसँग सम्बन्धित विवरण पेस गर्न निर्देशन दिएको हो ।
विभागले प्रकाशित गरेको सूचनाअनुसार नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी तथा हिमालयन रिइन्सुरेन्स कम्पनीको संस्थापनाकालमा संस्थापक सेयर खरिद गरेका व्यक्तिहरूसँग विवरण माग गरिएको छ ।
बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने क्रममा संस्थापक सेयर खरिद गर्नेले चुक्ता पूँजीबाहेक अतिरिक्त शुल्क अर्थात् प्रिमियम बापत विभिन्न व्यक्ति वा संस्थाको बैंक खातामा जम्मा गरेको रकमसम्बन्धी विवरण आवश्यक परेकाले यो कदम चालिएको विभागले जनाएको छ ।
विभागले जारी गरेको सूचनामा के कति रकम, कसको नाममा रहेको, कुन बैंक तथा वित्तीय संस्थाको कुन खातामा जम्मा गरिएको हो भन्ने सम्पूर्ण विवरण स्पष्ट रूपमा उपलब्ध गराउन आग्रह गरिएको छ । सम्बन्धित व्यक्ति वा संस्थाहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित भई वा आवश्यक कागजातसहित विवरण बुझाउन विभागले समयसीमा तोकेको छ ।