कैलाली । कैलालीका किसानहरू सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ बिक्री गर्न पाउँदा उत्साहित भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुर र मंगलबारदेखि धनगढीको मोहनपुरबाट गहुँ खरिद प्रक्रिया सुरु गरेको हो। यस वर्ष किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले सरकारले तोकेको मूल्यभन्दा बढीमा गहुँ खरिद गरिरहेको छ।
सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९४५ रुपैयाँ निर्धारण गरेको छ। खाद्य कम्पनीले किसानहरूलाई प्रति क्विन्टल ४,२५० रुपैयाँमा गहुँ खरिद गरिरहेको छ। कम्पनीले कैलालीबाट कुल १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ। प्रतिकिसान बढीमा ७० क्विन्टल र कृषिसम्बन्धी सहकारीबाट बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गरिने योजना रेहेको जनाएको छ ।
टीकापुरका किसान योगेन्द्र साउँदले अन्य ठाउँको तुलनामा खाद्य कम्पनीमा गहुँ बेच्दा राम्रो मूल्य पाएको बताए । जोशीपुरका किसान क्रिमलाल डङ्गौराले पनि तोकेको भन्दा बढी मूल्य पाउँदा खुसी व्यक्त गर्दै सरकारले समयमै खरिद सुरु गरिदिए किसानलाई थप राहत हुने बताए । यद्यपि, केही किसानले घरखर्च र बालबालिकाको कापीकिताब जोहो गर्न हतारमै सस्तोमा गहुँ बेचिसकेकाले सरकारले आगामी दिनमा अझ समयमै खरिद कार्य सुरु गर्नुपर्ने सुझाव दिएका छन्। यहाँका किसानले गहुँ बिक्री गरेर आएको रकम घरखर्च चलाउनुका साथै बर्खे खेतीका लागि बीउ र मल जोहो गर्न प्रयोग गर्ने गर्दछन्।
खाद्य कम्पनीका साथै यस क्षेत्रका बीउ वृद्धि गर्ने सहकारीहरूले पनि समर्थन मूल्यभन्दा बढीमा गहुँ खरिद गरिरहेका छन्, जसले गर्दा किसानहरूलाई कृषि कर्ममा थप हौसला मिलेको छ।