काठमाडौँ। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो। यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याइएको छ। प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दालाई छुट्टाछुट्टै अनुपातमा बाँडफाँट गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। श्रम स्वीकृति लिएका नेपालीहरूले सि–आस्बा प्रणाली तथा मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी, सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्नेछन्।
साथै, आस्बा सेवामा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटलले लिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ वैशाख ३१ गतेसम्म छिटो बन्द हुनेछ भने आवश्यक परे जेठ १८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने वैशाख २३ गतेसम्म छिटो बन्द हुने र आवश्यक परे वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको शेयर बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।