काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा आज (विहीबार)देखि आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ः३० बजे बागमती–४ स्थित सहिद स्मृति रंगशालामा आयोजना गरिनेछ।
प्रतियोगिताअन्तर्गत वैशाख १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृति क्लब भिड्नेछन्। वैशाख १९ गते विभागीय टोली एपीएफ क्लब र चित्लाङ एफसीबीच खेल हुनेछ भने वैशाख २० गते बाई पाएको ललितपुरको चर्च ब्वाइजले उद्घाटन खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी वैशाख २१ गते फ्रेन्ड्स क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ। वैशाख २२ गते बाई पाएको मच्छिन्द्र क्लबले एपीएफ र चित्लाङ एफसीबीचको विजेतासँग खेल्नेछ।
सेमिफाइनल खेलहरू वैशाख २३ र २४ गते हुनेछन् भने फाइनल खेल वैशाख २६ गते तय गरिएको छ। आयोजकसहित कुल १० टोली सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ पाउनेछन्। साथै, प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीलाई १० हजार रुपैयाँ दिइनेछ।