काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल पराजित भएको छ। बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले नेपाललाई डकवर्थ लुइस (म्ीक्) पद्धतिका आधारमा १०२ रनले हराएको हो।
३०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले खेल प्रभावित भएको थियो। वर्षाका कारण खेल रोकिनुअघि नेपालले ३६ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। वर्षा नरोकिएपछि डिएलएस मेथडअनुसार नतिजा तय गरिएको हो, जसमा नेपाल ओमानभन्दा १०२ रनले पछि रहन पुग्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रनको बलियो योगफल खडा गरेको थियो। ओमानका लागि कप्तान जतिन्दर सिंहले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेले। उनले १३० रनको योगदान दिँदै ओमानलाई विशाल स्कोरतर्फ डोहोर्याएका थिए। नेपाली बलरहरू जतिन्दरलाई रोक्न संघर्षरत देखिएका थिए।