काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट स्टेडियममा जारी खेलमा ओमानले घरेलु टोली नेपाललाई ३०६ रनको विशाल लक्ष्य दिएको छ। बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल तयार पारेको हो।
ओमानका लागि कप्तान जतिन्दर सिंहले विष्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले मात्र ९६ बलको सामना गर्दै सर्वाधिक १३० रन जोडे। त्यस्तै, जितेन रामानन्दीले ४३ रन, आर्यन बिष्टले ३५ रन र हमाद मिर्जाले ३० रनको योगदान दिए। विनायक शुक्ला, आशिष ओडेदरा र वसीम अलीले समान २३–२३ रन जोड्दा सिद्धार्थ बुक्कापट्टनम १ रनमा अविजित रहे।
नेपालका लागि मध्यम गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे।
३०६ रनको विशाल चुनौती पछ्याउन नेपालले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। घरेलु मैदान र दर्शकको साथमा नेपालले यो विशाल लक्ष्य पछ्याउँदै जित निकाल्ने अपेक्षा गरिएको छ।