काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेको थियो। अब बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
कम्पनीले कुल २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा यस चरणमा १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओमा आवेदन दिने अवधि छिटोमा बैशाख २२ गतेसम्म र ढिलोमा बैशाख ३० गतेसम्म रहनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ। ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माण भइरहेको छ र यसको कुल लागत करिब १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेड लाई दिइएको छ।