काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा आज आयोजक नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई ३७ रनले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ ।
ओमान भने सोमबार भएको खेलमा यूएईसँग २५ रनले पराजित भएको टिम हो । लिग–२ को अघिल्लो चक्रमा सन् २०२० फेब्रुअरीमा ओमानले नेपाल भ्रमण गर्दा नेपाली टोलीको स्वरूप निकै फरक थियो ।
त्यतिबेला ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालविरुद्ध ओमानले कीर्तिपुरमा ‘क्लिन स्विप’ गरेको थियो । संयोगवश, सोही शृङ्खला नै नेपालको घरेलु मैदानमा खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो ।