काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा यूएईले ओमानलाई २६९ रनको विजयी लक्ष्य दिएको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको ओमानविरुद्ध ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २६८ रन बनाएको हो।
यूएईका लागि ओपनर आर्यान्श शर्माले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले १२५ बलमा १० चौका र २ छक्काको मद्दतले १०५ रनको योगदान दिए। आर्यान्शले अदिब उस्मानीसँग पहिलो विकेटका लागि १६३ रनको विशाल साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पु¥याएका थिए। अदिब उस्मानीले ७६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए। त्यस्तै, हरप्रित सिंहले ५८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकीय पारी खेले।
ओमानका बलरहरूले कसिलो बलिङ गर्ने प्रयास गरेका थिए। ओमानका लागि शाह फैसलले ३ विकेट लिए भने सिद्धार्थ बुकापटनमले २ र शकिल अहमदले १ विकेट हात पारे।
२६९ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले अब केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। त्रिवि मैदानको पिचमा यूएईले बनाएको यो स्कोर निकै प्रतिस्पर्धी मानिएको छ।