काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जना पदाधिकारीको पासपोर्ट सरकारले कालोसूचीमा राखेको छ। आर्थिक अनियमितताको विषयमा छानबिन भइरहेको भन्दै अध्यागमन विभागले उनीहरूको यात्रामा रोक लगाएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामा भएको भनिएको आर्थिक अनियमितताको छानबिन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। उक्त समितिले आर्थिक विषयमा छानबिन गर्न आवश्यक रहेको भन्दै एन्फाका पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
सो सिफारिस युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो। गृह मन्त्रालयको निर्देशनपछि अध्यागमन विभागले शुक्रबार एन्फाका २४ जना पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखेको हो। अध्यागमन स्रोतका अनुसार, उनीहरू विदेश जान खोजेमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने व्यवस्था गरिएको छ।
एन्फाका यी पदाधिकारीहरू क्यानडाको भ्यानकुभरमा आयोजना हुन लागेको ७६औँ फिफा कंग्रेसमा सहभागी हुने तयारीमा थिए। बिहीबारदेखि सुरु हुने उक्त कार्यक्रममा सहभागी हुन जान लागेका पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा परेपछि अब उनीहरूको भ्रमण अनिश्चित बनेको छ।
पछिल्लो समय राखेप र एन्फाबीच सम्बन्ध चिसिएको छ। राखेपको निर्देशन विपरीत निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै एन्फालाई परिषद्ले तीन महिनाको निलम्बन गरेको थियो। साथै, एन्फामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। सोही उजुरीका आधारमा मन्त्रालयबाट आएको पत्र र राखेपको छानबिन समितिको सिफारिसमा यो कडा कदम चालिएको हो।