काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी ‘प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग’ मा शुक्रबार भएका खेलहरूमा नेपाल पुलिस क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स र एभरेष्ट भलिबल क्लबले जित हासिल गरेका छन्।
पुरुषतर्फको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल क्लबलाई पराजित गर्दै लिगमा सुखद सुरुवात गरेको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले कोशीलाई ३–१ को सेटमा पाखा लगायो। पुलिस २५–२३, २२–२५, २५–२० र २५–२२ विजयी भयो ।
शुक्रबार भएको महिलातर्फको खेलमा न्यू डायमण्ड युथ स्पोट्र्स र एभरेष्ट भलिबल क्लबले जित निकाल्दै अंक तालिकामा महत्त्वपूर्ण अंक जोडेका छन्। न्यू डायमण्डले सुदूरपश्चिम भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो। एकपक्षीय बनेको खेलमा न्यू डायमण्ड २५–११, २५–३ र २५–१ को फराकिलो सेटमा विजयी भयो।
अर्को खेलमा एभरेष्ट भलिबल क्लबले एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो। एभरेष्टले २५–२०, १६–२५, २५–१७ र २५–१६ को सेटमा जित हात पार्न सफल भयो। नेपाल भलिबल संघको आयोजनामा जारी यस प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।
संघका अनुसार प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।