काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेका छन्। एन्फाका महासचिव किरण राईलाई सम्बोधन गर्दै फिफाका चिफ मेम्बर एसोसिएसन अफिसर एल्खान मम्मादोव र एएफसीका डेपुटी जनरल सेक्रेटरी वाहिद कर्दानीले संयुक्त रूपमा हस्ताक्षर गरेको पत्रमा निलम्बन आउँदो ४ मे भित्र फिर्ता लिन भनिएको छ।
फिफा र एएफसीले १३ अप्रिल २०२६ मा राखेप, एन्फा, एएफसी र फिफाबीच भएको अनलाइन बैठकलाई स्मरण समेत गराएका छन्।पत्रमा २५ मार्च २०२६ मा राखेपले गरेको निर्णयप्रति असहमति जनाउँदै त्यसले एन्फाको स्वायत्ततामा प्रत्यक्ष असर पारेको उल्लेख गरिएको छ।
राखेपले एन्फालाई निर्वाचन प्रक्रिया रोक्न, विधानका केही प्रावधान संशोधन गर्न र जिल्ला संघहरूलाई आफ्ना विधान परिवर्तन गरी चुनावी साधारण सभा गर्न निर्देशन दिएको थियो। यस्तो निर्णय अन्तर्राष्ट्रिय फुटबल नियम विपरीत ‘तेस्रो पक्षीय हस्तक्षेप’को रूपमा लिइने भन्दै सदस्य संघका रूपमा एन्फाको दायित्वसँग मेल नखाने फिफा र एएफसीले जनाएका छन्।