काठमाडौँ । सेयर बजारको गिरावट बिहीबार पनि जारी रहँदा नेप्से परिसूचक २८ सयको मनोवैज्ञानिक सीमाभन्दा तल झरेको छ। यस दिन नेप्से १७.०१ अंकले घटेर २७८७ अंकमा सीमित भएको हो। लगातार चार कारोबार दिनदेखि बजार ओरालो लागिरहेको छ।
कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिन ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार घटेर ५ अर्ब ९ करोड रुपैयाँमा झरेको छ। बजारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत रूपमा उत्पादन तथा प्रशोधन र व्यापार समूहमा सामान्य वृद्धि देखिए पनि अधिकांश समूहहरूमा गिरावट आएको छ, जसमा होटल तथा पर्यटन समूह सबैभन्दा बढी प्रभावित भएको छ। केही कम्पनीको शेयर मूल्य भने उल्लेख्य रूपमा बढेको छ भने सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकसहित केही कम्पनीहरूमा उच्च गिरावट देखिएको छ। समग्रमा बजारमा लगानीकर्ताको दबाब बढ्दै जाँदा सेयर बजार अझै स्थिर हुन नसकेको देखिन्छ।