काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। सशस्त्र प्रहरी नियमावलीअनुसार १७ बैशाखदेखि अर्याल अवकाश पाउँदैछन् । नियमावलीमा ३० वर्षे सेवा अवधि व्यवस्था भए पनि आईजीपीको चार वर्षे कार्यकालका कारण उनी २८ वर्षमै अवकाशमा जान लागेका हुन् ।
उनी १८ वैशाख २०७९ मा आईजीपीमा नियुक्त भएका थिए। २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु गरेका अर्याल सशस्त्र प्रहरी गठनपछि त्यतै स्थानान्तरण भएका थिए। अर्यालको अवकाशसँगै नयाँ आईजीपीका लागि वरिष्ठतम् एआईजी नारायणदत्त पौडेल, बंशी दाहाल, गणेश ठाडा मगर आईजीपीका दावेदार रहेका छन् । त्यसमाथि पनि आईजीपीको मुख्य दाबेदारको रूपमा एआईजी नारायणदत्त पौडेल देखिएका छन् ।
हाल सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी रहेकोमा तीमध्ये पौडेल सबैभन्दा सिनियर अधिकारी हुन्। उनी हाल मानव स्रोत विकास विभागका प्रमुखको रूपमा कार्यरत छन्। सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजीमध्येबाट आईजीपी नियुक्त गर्ने व्यवस्था छ। एआईजी नभएको अवस्थामा भने डीआईजीमध्येबाट पनि सरकारले एक जनालाई आईजीपी बनाउन सक्ने प्रावधान रहेको छ ।