काठमाडौं ।सिरहामा प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरका ४३ वर्षीय जगदिश यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार राति करिब ११ बजे गाँजाको बिक्री भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लहान र महेशवारीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ। बरामद गरिएको गाँजासहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।