काठमाडौं । उदयपुरको बेलका नगरपालिका–५ स्थित सुपाडे देउरालीबाट ठूलो परिमाणमा गाँजासहित एक पिकअप चालक पक्राउ परेका छन्।
प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा १५९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो।प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ आदोरा निवासी करिब २८ वर्षीय पशुपति साफी रहेका छन्।सोमबार दिउँसो प्रहरी चौकी लालबजारबाट प्रहरी सहायक निरीक्षक गोविन्द सापकोटाको नेतृत्वमा खटिएको टोलीले नियमित जाँचका क्रममा रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप रोकेर तलासी लिएको थियो।
जाँचका क्रममा धानको भुस राखिएका बोराले छोपेर लुकाइएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजासहित पिकअप र चालकलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।