काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंक ले ४० अर्ब रुपैयाँ खिच्ने निर्णय गरेको छ।
केन्द्रीय बैंकले १६० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागेको हो। पछिल्लो समय कर्जाको माग कम हुँदा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको देखिएको छ। हाल बैंकहरूले करिब ३ प्रतिशत ब्याजदरमा नै केन्द्रीय बैंकमा रकम राखिरहेका छन्। यही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले खुला बजार कारोबारअन्तर्गत निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। प्रस्तावित ब्याजदरका आधारमा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिने व्यवस्था छ। यो निक्षेप संकलन प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ भने न्यूनतम १० करोड रुपैयाँबाट बोलकबोल गर्न सकिनेछ। उक्त १६० दिने उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिनेछ। राष्ट्र बैंकले वित्तीय बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्दै ब्याजदर सन्तुलनमा राख्न यस्तो कदम चाल्दै आएको जनाएको छ।