काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध सहज जित निकालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो ।
योसँग नेपालले टिट्वान्टी सिरिज बराबरी गरेको छ ।
१२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा लक्ष्य भेट्टायाे । नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १२ चौका र २ छककासहित ८२ रन बनाए ।
यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २३ कुशल मल्लले १९ बनाए । आजको खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका सन्तोष यादव एक रनमा आउट भए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दै केबल ६ रन खर्चिए ।नेपालका हेमन्त धामीले दुई तथा नन्दन यादव र शाहब आलमले समान एक विकेट लिए ।
यूएईका अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । मुहम्मद अरफानले ३२ र अदीम उस्मानीले ३० रन बनाए । यसअघि सोमबार भएको खेलमा नेपालले यूएईसँग ६ विकेटले हार व्यहोरेको थियो ।