काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध जितका लागि १ सय २९ रनको लक्ष्य पाएको छ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको हो। नेपालका बलरहरूले कसिलो बलिङ गर्दै यूएईलाई सस्तैमा समेट्न सफल भए।
नेपालको बलिङ लाइनअपमा लेग–स्पिनर सन्दीप लामिछाने र युवा पेसर हेमन्त धामी मुख्य आकर्षण रहे। लामिछानेले घातक बलिङ गर्दै ३ विकेट हात पारे। खेलको अन्तिमतिर निकै प्रभावकारी देखिएका सन्दीपले १९औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिँदै यूएईको रन गतिमा अंकुश लगाए। त्यस्तै, मध्यम गतिका बलर धामीले आजको खेलमा २ विकेट लिए। आफ्नो खेलजीवनको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलिरहेका धामीले पहिलो ओभरको पहिलो बलमै यूएईका कप्तान तथा ओपनर मुहम्मद वसिमलाई एलबीडब्लूको धरापमा पार्दै टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो विकेटको खाता खोलेका हुन्।
नेपालले अब केही बेरमा १२९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गर्नेछ। नेपाली ब्याट्सम्यानहरूले यो सामान्य लक्ष्यलाई कसरी पछ्याउँछन्, त्यसले शृंखलाको नतिजामा ठूलो अर्थ राख्नेछ।