काठमाडौँ । मंगलबार पनि सेयर बजारमा गिरावट देखिएको छ। अघिल्लो दिन घटेको बजारले निरन्तरता पाउँदै नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा झरेको छ।
नेप्सेसँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ओरालो लागेका छन्। बजार घटेपछि लगानीकर्तामा दबाब देखिएको भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। यस दिन ३४७ कम्पनीका १ करोड ३० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएका छन्।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रह्यो भने रिलायन्स स्पिनिङ्ग मिल्स र नेशनल हाइड्रोपावर पनि शीर्ष कारोबारमा परेका छन्। बजार समग्रमा घटे पनि केही कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले राम्रो लाभ पाएका छन्। उता, दोल्ती पावरका लगानीकर्ताले सबैभन्दा बढी नोक्सानी बेहोरेका छन्। समूहगत रूपमा हेर्दा १३ उपसमूहमध्ये होटल तथा पर्यटन समूह मात्र बढेको छ भने अन्य सबै उपसमूहमा गिरावट आएको छ।