काठमाडौँ। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७ गतेदेखि आफ्नो प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीलाई कुल ८६ करोड रुपैयाँको जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त भइसकेको छ। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। प्रभावित क्षेत्रका स्थानीयलाई ‘अति प्रभावित’ र ‘अन्य प्रभावित’ गरी दुई समूहमा विभाजन गरेर फरक–फरक अनुपातमा सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ। श्रम स्वीकृति लिएका नेपालीहरूले सी–आस्वा प्रणाली र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाहरूले सोलुखुम्बुको सल्लेरीमा रहेका माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र एनएमबि बैंक लिमिटेड का शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, आस्बा सेवा प्रदान गर्ने अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ। आवेदन दिने समय छिटोमा वैशाख २३ गतेसम्म र ढिलोमा वैशाख ३१ गतेसम्म रहनेछ। तर आयोजना प्रभावित स्थानीयका लागि भने आवेदन अवधि वैशाख ३१ गतेदेखि जेठ १८ गतेसम्म खुला रहनेछ।