काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। यस दिन नेप्से १३.१७ अंकले ओरालो लाग्दै २८२५.२३ विन्दुमा बन्द भएको हो। परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ। शुक्रबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार भने ५ अर्ब ४३ करोड रुपैयाँमा सीमित रह्यो।
यस दिन ३४९ वटा धितोपत्रअन्तर्गत एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर किनबेच भएका छन्। समग्र बजारमा ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबारका क्रममा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सूर्यकुन्ड हाइड्रो र होटल फरेस्ट इनको मूल्य १५ प्रतिशतले बढेको छ भने पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।
यता, सर्वाधिक गिरावट दोल्ती पावरमा देखिएको छ, जसको सेयर मूल्य ५.३५ प्रतिशतले घटेर प्रतिकित्ता ४२५ रुपैयाँमा झरेको छ। त्यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड २ को मूल्य ५.०३ प्रतिशतले घटेर प्रतिइकाइ ९ रुपैयाँ ४४ पैसामा पुगेको छ। सोमबार सबैभन्दा धेरै कारोबार होटल फरेस्ट इनको भएको छ। उक्त कम्पनीको १ हजार २६१ रुपैयाँ ४० पैसामा ३६ करोड १ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसपछि सोलु हाइड्रोपावर दोस्रो स्थानमा रहँदै ८४९ रुपैयाँमा २९ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। समूहगत परिसूचकतर्फ हेर्दा कारोबारमा आएका १३ मध्ये होटल तथा पर्यटन समूह मात्रै १।०१ प्रतिशतले बढेको छ भने अन्य सबै समूह घटेका कारण समग्र नेप्से परिसूचक ओरालो लागेको हो।