काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आगामी वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि पहिलो चरणको प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो ३० करोड रुपैयाँ जारी पूँजीमध्ये २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ ।
जारी गरिने कुल शेयरमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उपलब्ध हुने यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदन दिने अन्तिम म्याद वैशाख २२ गतेसम्म तोकिएको छ, तर माग पर्याप्त नभएमा यो अवधि वैशाख ३० गतेसम्म लम्बिन सक्नेछ ।
यस आईपीओको बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ । लगानीकर्ताले मेरो शेयर प्रणाली वा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । कम्पनीलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी डबल बी’ स्तरको रेटिङ्ग प्रदान गरेको छ, जसले लगानीमा मध्यम जोखिम रहेको संकेत गर्छ । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको एभरेष्ट कलर लिमिटेडको उत्पादन इकाई चितवनको खैरहनीमा सञ्चालनमा छ । करिब १४ वर्षदेखि पेन्ट उत्पादन गर्दै आएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा कमाएको जनाएको छ ।