काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। शुक्रबार बेलुकी र राति राजधानीका दुई छुट्टाछुट्टै स्थानमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित संगमचोकमा जुवाको खाल फेला पारेको छ। कृष्ण बहादुर थापाले सञ्चालन गरेको ’थापा रेष्टुरेन्ट एण्ड खाजा घर’मा जुवा खेलिरहेको अवस्थामा सञ्चालक थापासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। उक्त स्थानबाट प्रहरीले १ लाख ६ हजार ८ सय ५० रूपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ।
त्यसैगरी, काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित एक होटलमा पनि जुवातास खेलिरहेको अवस्थामा थप ७ जना पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उक्त होटलमा छापा मार्दा ओखलढुङ्गा घर भई हाल काठमाडौंको मुलपानी बस्ने ४२ वर्षीय तिलक बहादुर तामाङसहित ७ जनालाई नियन्त्रणमा लिएको हो। सो स्थानबाट ८३ हजार ८ सय ८० रूपैयाँ नगद र १ बुक तास प्रहरीले बरामद गरेको छ।
दुवै घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी वृत्तहरूले थप अनुसन्धान गरिरहेको जनाइएको छ।