काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। भेटमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गरे। उनले हालै तान्जानियाको आरुषामा सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी विपद् व्यवस्थापनको प्रस्तावबारे पनि जानकारी गराए। हिमालय क्षेत्रसहित जोखिममा रहेका क्षेत्रको उत्थानशीलता बढाउन तत्काल संसदीय पहल गर्नुपर्ने विषय समेटिएको उक्त प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको उनले बताए।
जलवायु परिवर्तनका कारण निम्तिने विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारीलाई प्रभावकारी बनाउनुका साथै जोखिममा रहेका समुदायको सुरक्षा र पुनःस्थापना क्षमतालाई बलियो बनाउनुपर्नेमा सभामुख अर्यालले जोड दिए। त्यसैगरी, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय समुदाय र विभिन्न देशका संसद्बीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए। भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विषयमा सहकार्य अघि बढाउनेबारे समेत विचार आदानप्रदान भएको थियो।